परिचय
पृष्ठभूमि, उद्देश्य, र कानूनी तथा नीतिगत आधारहरू
१.१ पृष्ठभूमि
नेपाली जनताको बलिदानपूर्ण लामो संघर्ष पश्चात नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था कायम भएको छ । विश्वभर विभिन्न देशहरूमा सफल अभ्यासमा आएको यो व्यवस्था नेपालमा नौलो भएकाले यसमा अभ्यस्त हुन केही समय अवश्य लाग्नेछ। संघीय शासन प्रणालीको सवल पक्ष भनेको जनता केन्द्रित शासन हो । नेपालको संघीय प्रणाली अर्न्तगत राज्यको संरचनालाई तीन तहमा विभाजन गरिएको छ । संघीय अर्थात केन्द्रीय शासन, प्रादेशिक शासन बिचमा र तल्लो तहमा स्थानीय सरकार सरह नेपालको संविधानले स्थानीय तहहरूलाई स्थानीय स्वायत्त सरकारको रुपमा स्थापित गरेको छ । संविधानको अनुसूची ८ को क्र.सं. ६ मा स्थानीय तथ्याङ्क र अभिलेख संकलन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय सरकारलाई भएको उल्लेख छ भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को घ मा माथि उल्लेखित विषयलाई थप विस्तार गरिएको छ ।
तसर्थ नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको गाउँ/नगर वस्तुगत विवरण तयारी कार्यविधि, २०७८ अनुरुप स्थानीयस्तरका विकासको योजना निर्माण, नीति निर्माण तथा स्थानीय सूचनाको प्रमुख श्रोतको रुपमा रहने यो वस्तुगत विवरणले उप-महानगरपालिकालाई विकास र समृद्धिको समुचित दिशातर्फ उन्मुख हुन सहयोग गर्ने विश्वासका साथ यो प्रतिवेदन तयार भएको छ ।
१.२ उद्देश्य
पाश्र्वचित्र निर्माणको प्रमुख उद्देश्य भनैकै उप-महानगरपालिकाको समग्र वस्तुगत अवस्थाको जानकारीहरूलाई सुव्यवस्थित ढङ्गले अभिलेखीकरण गर्ने र ती तथ्याङ्क वा सूचनाहरूलाई अद्यावधिक गर्दै आवश्यक पर्दा सरोकारवालाहरूलाई सूचना उपलब्ध गराउनु हो । पाश्र्वचित्रका अन्य विशिष्ट उद्देश्यहरू निम्नानुसार रहेका छन् :-
क) उप-महानगरपालिकाको समग्र भौतिक पूर्वाधार, आर्थिक पक्ष, सामाजिक पक्ष, प्राकृतिक सम्पदा तथा विपद् व्यवस्थापन सम्बद्ध पक्षहरूको सूचना तथा तथ्याङ्कको अभिलेख तयार पार्ने ।
ख) सेवाप्रवाह तथा संस्थागत संयन्त्रहरूका बारेमा सूचना तथा तथ्याङ्कहरूको अभिलेख तयार गर्ने ।
ग) सबल पक्षहरू, दुर्बल पक्षहरू, अवसरहरू, चुनौतीहरू तथा सम्भावनाहरूको विश्लेषण गर्ने ।
घ) विभिन्न विषयगत आधार नक्शा तयार गर्ने ।
ङ) समग्र जनसांख्यिक, आर्थिक, सामाजिक, भौतिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथ्याङ्कहरूको व्याख्या र विश्लेषण गर्ने ।
च) प्राप्त सूचनाहरूको वर्गीकरण गरी सुव्यवस्थित र सरल ढंगले सर्वसाधारणले बुझ्न सक्ने गरी विभिन्न खण्डमा विभाजन गरी प्रस्तुत गर्ने ।
छ) माथि उल्लेखित सम्पूर्ण विषयसँग सम्बन्धित एकमुष्ठ तथ्याङ्कीय आधार तयार पार्ने ।
१.३ कानूनी तथा नीतिगत आधारहरू
पृष्ठभूमिमा उल्लेख भए जस्तै उप-महानगरपालिकाको वस्तुगत विवरण तयारीका निम्न आधारहरू रहेका छन् ।
(क) वैधानिक आधार
नेपालको संविधानको अनुसूची ८ र ९ लाई व्याख्या गर्न बनेको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तथ्याङ्गहरूको अभिलेख तयार गरी अध्यावधिक गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई नै प्रदान गरेकोले उप-महानगरपालिकालाई पार्श्वचित्र तयार पार्ने आधार बनेको छ ।
(ख) नीतिगत आधारहरू
नीतिगत आधारहरू अन्तर्गत नेपाल सरकारले तयार पारेको समग्र योजनाहरू, नीतिहरू, प्रादेशिक नीतिहरू र यी नीतिहरूका आधारमा तयार भएका स्थानीय तहका नीतिहरूलाई कार्यान्वयन गर्न आधारभूत रूपमा आवश्यक तथ्याङ्गहरूको अनिवार्यता हुने भएकाले उप-महानगरपालिकाको समग्र सूचनाहरू तयार पार्नुपर्ने नीतिगत आवश्यकता रहेको र सूचना व्यवस्थापनको नीतिगत व्यवस्था समेत रहेकाले सोका आधारमा यो वस्तुगत विवरण तयार पारिएको हो ।
(ग) स्थानीय आवश्यकता
स्थानीय सरकार सञ्चालन गर्न तथा स्थानीय आवश्यकताहरूको पहिचान गर्न वस्तुगत सूचनाहरूको आवश्यकता पर्दछ । स्थानीय आवश्यकताहरूको पहिचान पश्चात् विकास निर्माण नीति, योजना तथा कार्यक्रमहरू तय गर्न सकिन्छ । तसर्थ समग्र विकास प्रक्रियालाई अगाडि बढाउँदै स्थानीय सरकार सञ्चालन गर्न आवश्यक सूचना तथा तथ्याङ्गहरूको संगालोको टङ्कारो आवश्यक रहने हुँदा यो नै वस्तुगत विवरण तयारीको अर्को महत्वपूर्ण आधार हो ।
यी बाहेक नेपालले पक्षराष्ट्र भई हस्ताक्षर गरेका अन्तराष्ट्रिय सन्धी तथा सम्भौताहरूलाई कार्यान्वयन गर्न समेत वस्तुगत सूचनाहरूको आवश्यकता पर्दछ । दिगो विकास लक्ष्य हासिल गर्न जलवायु परिवर्तन असरहरू न्यूनीकरण गर्न, मानवअधिकारको सुनिश्चतता गर्न, पर्यावरणीय सन्तुलन कायम गरी दिगो विकास गर्न तथ्यपरक सूचनाहरूको आवश्यकता पर्ने भएकाले यी आवश्यकताका आधारमा यो विवरण तयार पारिएको हो ।
१.४ तयारीका चरणहरू
यस उप-महानगरपालिकाको पार्श्वचित्रको तयारी गर्दा प्रयोग गरिएका विधिहरू निम्नानुसार रहेका छन् –
यसमा उप-महानगरपालिकाको विभिन्न विषयगत शाखा, विषयगत कार्यालय तथा विभिन्न संघसंस्थाहरूबाट उपलब्ध तथ्याङ्गहरू समावेश गरिएको छ ।
सबै वडाका अध्यक्ष तथा अन्य पदाधिकारीसँग प्रत्यक्ष अन्तर्वार्ता विधि प्रयोग गरी तथ्याङ्ग संकलन गरिएको ।
राष्ट्रिय जनगणना २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरिएको ।
यस अध्ययन प्रतिवेदनमा तथ्याङ्गको विश्लेषणका क्रममा विभिन्न तालिकाहरू, चित्रहरू तथा नक्शाको प्रयोग गरी वर्णनात्मक तथा तुलनात्मक रूपमा विश्लेषण गरिएको छ ।
प्राथमिक तथा द्वितीयक सूचना संकलन
पार्श्वचित्र तयार गर्ने कार्य प्राथमिक (Primary) तथा द्वितीय (Secondary) सूचना संकलन पद्धती प्रयोग गरी गरिएको छ । भू-उपयोग, सडकहरू र सोको गुणस्तर तथा वातावरणीय समस्याहरू जस्ता तथ्याङ्गहरू भौगोलिक सूचना प्रणाली तथ्याङ्ग (GIS Data), स्थलस्वरुप नक्शा, हवाई नक्शा, नापी नक्शा, स्थलगत निरीक्षण तथा अन्तर्वार्ता विधि प्रयोग गरी संकलन गरिएको छ । यसका साथै उप-महानगरपालिका स्थित विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूका पदाधिकारीहरू, बुद्धिजीवीहरू उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरूसँग छलफल एवं अन्तर्वार्ता गरी उप-महानगरपालिकाका प्रमुख समस्या एवं विकासका सम्भावनाहरू बारे जानकारी लिइएको छ । उप-महानगरका समग्र तथ्याङ्गहरू जस्तै: भौतिक, वातावरणीय, सामाजिक, आर्थिक, वित्तीय एवं संस्थागत तथ्याङ्गहरू उप-महानगरपालिका कार्यालय लगायत उप-महानगरपालिका स्थित सरकारी एवं गैरसरकारी कार्यालयहरूको रेकडर्बाट र केही तथ्याङ्गहरू सम्बन्धित विभाग तथा अन्य निकायहरूबाट प्रकाशित प्रतिवेदन एवं पुस्तकहरू अध्ययन गरी संकलन गरिएको छ ।
१.४.१ वस्तुस्थिति विवरण ढाँचा, औजार तथा कार्यविधि तयारी
यस तयारीको पहिलो चरणमा देहाय बमोजिमका गतिविधिहरू संचालन गरिएका छन् :-
नेपालगञ्ज उप-महानगरपालिका क्षेत्रको भौगोलिक अवस्था, जनसंख्या, सामाजिक, आर्थिक, प्राकृतिक, भौतिक, वातावरणीय र संस्थागत वस्तुस्थिति फल्काने र भौगोलिक तथा सामाजिक रूपमा खण्डीकृत विवरण खुल्ने गरी वस्तुस्थिति विवरण तयारी कार्य प्रारम्भ गर्न कार्यपालिका बैठकबाट निर्णय गरियो ।
वस्तुस्थिति विवरणको स्तरीय ढाँचा अनुसार राष्ट्रिय जनगणना, २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरी संस्थागत सर्वेक्षण एवं सहभागितामूलक लेखाजोखा सर्वेक्षणका लागि विज्ञहरूको समेत संलग्नतामा प्रश्नावलीलाई अन्तिम रुप दिइयो ।
१.४.२ वस्तुस्थिति विवरण तयारी कार्यशाला
वस्तुस्थिति विवरण तयारीका लागि नेपालगञ्ज उप-महानगरपालिकाले कार्यपालिकाका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुबिच वस्तुस्थिति विवरणको स्तरीय ढाँचा, तथ्याङ्गको स्रोत तथा संकलन एवं विश्लेषण तयारी विधिबारे साभा धारणा, बुफाई र अपनत्व कायम गर्न छलफलबाट कार्ययोजना तयार गर्नका लागि तथा वस्तुस्थिति विवरण तयार गर्ने कार्यको जिम्मेवारी र कार्ययोजना निर्धारण गर्नका लागि उप-महानगरपालिका प्रमुख, उप-प्रमुख, कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु, विषयगत शाखा/उपशाखा/इकाई प्रमुखहरु, उप-महानगरपालिकाबाट छनौट गरिएका स्थानीयस्तरको जानकार विशेषज्ञ वा स्थानीय विज्ञहरुको सहभागितामा एक दिनको वस्तुस्थिति विवरण तयारी कार्यशाला गोष्ठी संचालन गरियो ।
१.४.३ तथ्याङ्ग संकलन
यहाँको वस्तुस्थिति विवरण निर्माणका लागि दुई किसिमका तथ्याङ्गहरू संकलन गर्न संस्थागत विवरण तथा राष्ट्रिय जनगणना, २०७८ कृषि गणना, विभिन्न सर्वेक्षण, मानव विकास प्रतिवेदन, लगायतबाट प्राप्त विवरणहरू संकलन गरिएको थियो । संस्थागत विवरण संकलन अन्तर्गत प्रश्नावलीहरूको माध्यमबाट हरेक वडा कार्यालय तथा कार्यपालिकाको विभिन्न शाखाहरूको समेत सहयोग र समन्वयमा विवरणहरू संकलन गर्ने कार्य गरियो । यसरी संस्थागत विवरणहरू संकलन गर्ने सन्दर्भमा स्रोत नक्शा एवं GIS Mapping लाई व्यवस्थित गर्नका लागि GIS Coordinates लिइएको थियो ।
१.४.४ तथ्याङ्ग प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारी
प्राप्त तथ्याङ्गलाई व्यवस्थित तथा विश्लेषणका लागि कम्प्युटर सफ्टवेयरको डिजाइन तथा विकास गरी आवश्यकता अनुसारका तालिकाहरू तयार गरिनुका साथै थप विश्लेषणका लागि MS Excel को पनि प्रयोग गरियो भने प्राप्त सबै प्रकारका तथ्याङ्गहरूलाई MS Excel को प्रयोग गरी विश्लेषण गर्ने कार्य गरियो । स्रोत नक्शा तयारीका लागि पनि दुवै तरिकाहरू जस्तै GIS Database लाई आधार मानी सफ्टवेयरको प्रयोग गरी GIS मा आधारित स्रोत नक्शा बनाउने, तथ्याङ्ग व्यवस्थापनका लागि विकास गरिएको सफ्टवेयरमा पनि GIS Coordinates राखेर Google Map को प्रयोगबाट Mapping गर्ने विधिको प्रयोग गरियो ।
१.४.५ वस्तुस्थिति विवरणको मस्यौदा तयारी
तथ्याङ्ग प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारीबाट प्राप्त प्रतिवेदनहरूलाई व्यवस्थित गदै तथा वस्तुस्थिति विवरण तयारी कार्यविधि, २०७८ ले निर्देशन गरे अनुशरण गदै विज्ञहरूद्वारा वस्तुस्थिति विवरणको मस्यौदा प्रतिवेदन तयार गरी निश्चित समयावधिमा उप-महानगरपालिकामा पेश गरियो ।
१.४.६ वस्तुस्थिति विवरण सुझाव संकलन
निर्धारित ढाँचामा पालिकाको वस्तुस्थिति विवरणको पहिलो मस्यौदा तयार भए पश्चात् वस्तुस्थिति विवरणको मस्यौदामा छलफल गर्न कार्यपालिकामा एक दिने प्रमाणिकरण कार्यशालाको आयोजना गरियो । प्रमाणिकरण कार्यशालामा प्रस्तुत भएका सूचना तथा विवरणको शुद्धता र तथ्य यकिन गरी सुधारका लागि सुझाव संकलन गर्ने, वस्तुस्थिति विवरणको मस्यौदाले समेट्न नसकेका विषय क्षेत्र वा परिमार्जन गर्नुपर्ने पक्षहरूलाई समावेश गर्न सुझाव आदान प्रदान गर्ने, वस्तुस्थिति विवरणमा प्रस्तुत तथ्याङ्क, सूचना तथा विवरणहरूको अन्तरसम्बन्ध र तुलनात्मक पक्षहरू यकिन गर्ने, वस्तुस्थिति विवरण प्रकाशन पश्चात् यसका विवरणहरू योजना तर्जुमा, विकास निर्माण, सेवाप्रवाह, कार्यसम्पादन र नतिजा अनुगमनमा उपयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने आदि कार्यहरू गरिएको थियो ।
१.४.७ उप-महानगरपालिकाको वस्तुस्थिति विवरणको अन्तिम प्रतिवेदन तयारी
कार्यशालाबाट प्राप्त भएका सुभावहरूलाई समावेश गरी तथा मस्यौदा प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने विषयहरु, कार्यशालाबाट प्रस्तुत सुभावहरू बारे सम्बन्धित सरोकारवालासँग आवश्यकता अनुसार पुनःपरामर्श गरी एवं वस्तुस्थिति विवरणको स्तरीयता र गुणस्तर सुनिश्चतताका लागि विज्ञहरूका सुभावहरूलाई समेत ध्यान दिई वस्तुस्थिति विवरणलाई अन्तिम रुप दिइएको हो ।
१.५ वस्तुस्थिति विवरणको सीमा
राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारण गरे बमोजिम उप-महानगरपालिका पार्श्वचित्र तयार गर्दा प्रयोग गरिएका तथ्याङ्गहरूको स्रोत र आधार वर्ष खुलाइएको छ । उप-महानगरपालिकाका विषयगत शाखा, सरकारी तथा गैरसरकारी कार्यालय, अन्य संघसंस्थाले उपलब्ध गराएका तथ्याङ्ग, विभिन्न मन्त्रालय, विभागहरू आदि स्रोतहरूबाट उपलब्ध तथ्याङ्गको आधारमा यो वस्तुगत विवरण तयार गरिएको छ ।
पार्श्वचित्रको अवधारणा अनुसार यसले नेपालगञ्ज उप-महानगरपालिकाको सम्पूर्ण पक्षको यथार्थ जानकारी सरल एवं स्पष्ट रूपमा दिन्छ । अध्ययनलाई यथासक्य वस्तुगत बनाउने प्रयास गरिएको छ । तैपनि स्रोत, साधन तथा सूचना व्यवस्थापन सिमिताताका कारण अपेक्षित सम्पूर्ण सूचनाहरू प्राप्त हुन सकेका छैनन् । तथापी, अध्ययनमा निर्धारित उद्देश्यका आधारमा आवश्यकता अनुसारका तथ्याङ्ग भने समावेश गरिएको छ ।