परिच्छेदहरू

परिच्छेद २

उप-महानगरपालिकाको चिनारी

भौगोलिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, र प्राकृतिक सम्पदा

२.१ भौगोलिक अवस्थिति

नेपालगन्ज उप-महानगरपालिका लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ। यो उप-महानगरपालिका २८° ०२' ४८" उत्तर देखि २८° ०७' १२" उत्तरी अक्षांश र ८१° ३५' २४" पूर्व देखि ८१° ४१' २४" पूर्वी देशान्तरको बीचमा फैलिएको छ। यो समुन्द्र सतहबाट करिब १५० मिटरको उचाइमा रहेको छ।

यस उप-महानगरपालिकाको पूर्वमा डुडुवा गाउँपालिका, पश्चिममा खजुरा गाउँपालिका, उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश राज्य पर्दछ। यसको कुल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ।

२.२ ऐतिहासिक पृष्ठभूमि तथा नामाकरण

बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई वि.सं. १९१७ तिर तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन ब्रिटिश सरकारलाई सहयोग पुराए बापत 'नयाँ मुलुक' को रुपमा उपहार स्वरूप फिर्ता पाएका थिए। त्यसै समयमा नेपालगन्ज बजारको स्थापना भएको मानिन्छ। 'नेपाल' र 'गन्ज' (बजार) मिलेर 'नेपालगन्ज' शब्दको उत्पत्ति भएको हो।

यो शहर ऐतिहासिक कालदेखि नै एउटा व्यापारिक केन्द्रको रूपमा विकास हुँदै आएको छ। पश्चिम नेपालको प्रमुख प्रवेशद्वार मानिने यो शहर धार्मिक सहिष्णुता र सद्भावको केन्द्रको रूपमा पनि चिनिन्छ।

२.३ राजनीतिक र प्रशासनिक संरचना

ऐतिहासिक रुपमा वि.सं. २०१७ मा नेपालगन्ज नगरपालिकाको स्थापना भएको थियो। नेपालको वर्तमान संघीय संरचना अनुसार, साविकका २८ वटा वडाहरूलाई समायोजन गरी हाल १३ वटा वडाहरूमा यो उप-महानगरपालिकालाई विभाजन गरिएको छ। नेपाल सरकारको मन्त्रीपरिषद्को मिति २०७१ मंसीर १६ गतेको निर्णयानुसार नेपालगन्ज नगरपालिकालाई थप गाविसहरू समायोजन गरी उप-महानगरपालिका घोषणा गरिएको थियो।

वडा नं. समावेश भएका साविक गाविस/नगरपालिकाहरू क्षेत्रफल (वर्ग कि.मि.) केन्द्र
नेपालगन्ज न.पा. साविक वडा नं. ७ र ८ १.०५ धुम्बोझी
नेपालगन्ज न.पा. साविक वडा नं. ९ र १० ०.६४ घरबारी टोल
नेपालगन्ज न.पा. साविक वडा नं. ११, १२, २५ १.११ एकलाैनी
नेपालगन्ज न.पा. साविक वडा नं. १३, १४, १५, १६, २२ १.३५ गणेशपुर
नेपालगन्ज न.पा. साविक वडा नं. १, २, ३, ४, ५, ६ ०.७५ नयाँ सडक
नेपालगन्ज न.पा. साविक वडा नं. १७, १८, १९ ०.९८ फुल्टेक्रा
नेपालगन्ज न.पा. साविक वडा नं. २०, २१ ०.९४ गगनपुर
नेपालगन्ज न.पा. साविक वडा नं. २३, २४, २६ १.१२ महेन्द्र पार्क
नेपालगन्ज न.पा. साविक वडा नं. २७, २८ १.१५ आँखा अस्पताल
१० नेपालगन्ज न.पा. साविक वडा नं. ३, ५ ३.४४ भृकुटी नगर
११ नेपालगन्ज न.पा. साविक वडा नं. १०, ११ ३.९५ कारकाँदो
१२ नेपालगन्ज न.पा. साविक वडा नं. १३ ५.२१ बेलासपुर
१३ नेपालगन्ज न.पा. साविक वडा नं. १४, १५ ६.८२ उदयपुर
 नक्सा नं. १ : प्रशासनिक विभाजन नक्सा

नक्सा नं. १ : प्रशासनिक विभाजन नक्सा

 नक्सा नं. २ : उप-महानगरपालिकाको वडा विभाजन नक्सा

नक्सा नं. २ : उप-महानगरपालिकाको वडा विभाजन नक्सा

२.४ धरातलीय अवस्था

उप-महानगरपालिकाको भौतिक अवस्थाको विवरण तयार पार्दा यहाँको धरातलीय अवस्थाका बारेमा उल्लेख गर्नु अनिवार्य हुन्छ। क्षेत्रफलका हिसाबले नेपाल सानो भए तापनि धरातलीय विविधताका हिसाबले विश्वमै सम्पन्न मानिन्छ। विशेषतः भौगर्भिक प्रक्रियाका दौरान पछिल्लो समयमा निर्माण भएको महालङ्गुर हिमश्रङ्खला निर्माण हुँदा तिब्बतीय भू-खण्ड र भारतीय उपमहाद्वीपको एक आपसमा टकराव हुँदा यी दुई भू-खण्डका बिचमा रहेको टेथिस सागरको अस्तित्व समाप्त भई उच्च हिमालय पर्वत, मध्यम महाभारत पर्वत श्रृङ्खला तथा होचा चुरे पर्वत श्रृङ्खला र सबैभन्दा दक्षिण भेगमा फैलिएको विशाल गङ्गाको मैदानको अंशको रुपमा रहेको तराई भू-भाग मिलेर समग्र देशको भू-सतह निर्माण भएको छ। यो भू-धरातलको वस्तुगत चरित्रहरू मध्ये एक वा अर्को प्रकारको भू-धरातलको प्रधानता नेपालका सबैसो स्थानीय तहहरूमा रहेको पाइन्छ। भू-धरातलीय स्वरुपले विकास निर्माणमा अहम् भूमिका खेल्दछ। भू-धरातलको विवरण अन्तर्गत विशेषतः भिरालोपन, मोहडा, उचाई, भू-आवरण, माटोको बनावट जस्ता आधारभूत पक्षहरू पर्दछन्।

क) माटोको बनावट

उप-महानगरपालिकाको भौगर्भिक संरचना भारतीय उपमहाद्धीप (Indian Plate) र तिब्बतीय प्लेट (Tibetan Plate) को एकआपसको टकराववाट उत्पत्ति भएको महाभारत पर्वत श्रृङ्खला निर्माण हुँदाको वखत भएको हो। यो विशाल गंगा नदीको निरन्तर बहावको परिमाण स्वरुप बनेको गंगाको विशाल समथर फाँटको एक अति निम्न अंशको रूपमा यो उप-महानगरपालिकाको सम्पूर्ण भू-भाग रहेको छ। यसरी गंगाको फाँटको रूपमा रहेको यहाँको माटो मुख्यतया पाँगो मिश्रित मलिलो रहेको छ। खोला नालाको प्रत्यक्ष प्रभाव क्षेत्रमा रहेको माटोमा बालुवाको मात्रा बढी छ भने केही भित्री भागमा चिम्टाइलो र दोमट माटोमा प्राङ्गारिक पदार्थको मात्रा पाइन्छ। यसरी प्राङ्गारिक पदार्थको मात्रा भने निरन्तर खेती भइरहेको क्षेत्रमा केही बढी छ भने बाँझो क्षेत्रमा क्रमशः घटिरहेको पाइन्छ। समग्रमा भन्दा यो उप-महानगरपालिकाको माटो उर्वर र खेतीयोग्य माटोमा पर्दछ।

ख) भीरालोपनाको विवरण

नेपालगंज उप-महानगरपालिकाको भूमिलाई भू-बनोट, प्रणाली, तथा भू-स्खलन जस्ता प्रवृत्तिका आधारमा अध्ययन गर्दा भूमिको वर्गीकरणलाई त्यसको उपयोगको सम्भाव्यता र सघनता घट्दै जाने (Degrading) क्रममा राखिएको छ। अर्को शब्दमा, भू-स्खलन वा भू-क्षयीकरणको प्रवृत्ति भू-बनोट अनुसार फरक पर्दै जान्छ। त्यसै क्रमले भूमिको स्थायित्वलाई मजबुत बनाउने उपायको भौतिक लक्षण (Physical characteristics) का आधारमा माटोको अवस्था र भिरालोपन विश्लेषण गरिएको छ। नेपालगंज उप-महानगरपालिकामा भू-बनोट, पारिस्थतिक प्रणाली तथा भू-स्खलन जस्ता तत्वका आधारमा भूमिको वर्गीकरणलाई हेर्दा उप-महानगरपालिकाको जमिनमा समथर जमिनको प्रधानता रहेकोले भिरालोपनको विषमता नरहेको पाइन्छ।

अ) Slope ०°-५°: यस्तो जमिनमा माटोको गहिराई पर्याप्त हुन्छ र पानी सतहमा तथा अर्ध भूमिगत अवस्थामा समेत सजिलै निकास हुन्छ। मनसुनी खेती गर्नका लागि यस्तो भूमिमा गद्ब्राहरू बनाउनु पर्दछ। सतहगत जलप्रवाह एवं अर्धभूमिगत पानीको निकासलाई भू-क्षय हुन नपाओस् भनी नियन्त्रणका उपायहरू मनायानु पर्दछ। माटोका भौतिक गुणहरू तथा जमिनको भिरालोपनका कारण वर्षाको पानीबाट नयाँ खोल्सीहरू बन्ने र ती खोल्सीहरू प्रकारान्तरमा चौडा हुँदै गएर भू-क्षयको प्रवृत्ति बढ्ने हुनाले यस वर्गको जमिनको संरक्षण गर्न विशेष ध्यान दिनु पर्दछ। यस वर्गको जमिनमा परम्परागत माध्यम वा आधुनिक विधिबाट खेती गर्न सकिन्छ। मनसुनको समयमा हुने वर्षाका कारण चरन तथा वनस्पतिलाई पनि मनग्य फाईदा पुग्दछ। यस्तो जमिनमा धान खेती गर्न सकिन्छ। सिंचाई सुविधा उपलब्ध भएको छ। माटो दानादार भएको अवस्थामा समेत धानवाली लगाउन सकिन्छ।

आ) Slope ५°-१०°: ५°-३०° भिरालो रहेको, पानीको निकास राम्रो हुने गरेको तथा माटोको पत्रको गहिराई ५० से.मि. देखि १०० से.मि. सम्म रहेको जग्गा यस वर्गमा पर्दछ। यस वर्गको जमिनमा पहिरो जाने, जमिन भासिने जस्ता भू-क्षयीकरणका प्रवृत्तिहरू सामान्य रुपमा देखा परिरहन्छन्। वन, वनस्पतिका लागि यो जमिन त्यति सहज हुँदैन। गाईवस्तुको आवत-जावतबाट भू-क्षयीकरणमा वृद्धि हुने हुनाले चरन विकासलाई यस प्रकारको जमिनमा प्रश्रय दिन ठीक हुँदैन। यस प्रकारको जमिन विशेष गरी मनसुन खेतीका लागि भू-क्षय रोक्न गद्ब्राहरू बनाउन अनिवार्य हुन्छ।

इ) Slope ३०°-४०°: माटोको पत्र २० से.मि. मात्र गहिराई भएको पानीको निकास सहज भएको तथा जमिनको भिरालोपन ३०° (१.७ मिटरमा १ मि.) भन्दा बढी भएको जमिन यस वर्गमा पर्दछ। यस प्रकारको ज्यादा भिरालोपन भएको जग्गामा गद्ब्राह बनाएर खेती गर्नु फाइदाजनक देखिँदैन। यहाँ काठ र इन्धनका लागि वन पैदावारको उत्पादन वृद्धि गर्नु उपयुक्त हुन्छ। पहिरो जाने वा बाढीबाट क्षति हुने प्रवृत्ति यस प्रकारको जमिनका सामान्य लक्षण हुन्।

ई) Slope > ४०°: ज्यादै भिरालो भएको, मध्यम भिरालोपन भए पनि माटो पत्र (तह) २० से.मि. भन्दा कम भएको वा जस्तो सुकै भिरालोपन भए पनि वर्षे पानीबाट क्षति भएको, धरे खोल्सीहरू सिर्जना भएको जमिन यस वर्गमा पर्दछ। यस प्रकारको जमिनलाई घाँस वा बोट-बिरुवा लगाएर हराभरा बनाइराख्नुपर्छ।

ग) जमिनको मोहडाको विवरण (Aspect)

जमिनको मोहडा तथा सूर्यको प्रकाशको उपलब्धताका आधारमा गरिने विश्लेषण अन्तर्गत नेपालगंज उप-महानगरपालिकाको जमिनको मोहडा सम्बन्धी विवरण प्रस्तुत गरिनेछ।

 नक्सा नं. ३ : उप-महानगरपालिकाको नक्सा

नक्सा नं. ३ : उप-महानगरपालिकाको नक्सा

जमिनको भिरालोपन र मोहडा सामान्यतया एक अर्काका परिपूरक हुन्छन्। अर्थात् भिरालोपन विषम हुँदा मोहडामा पनि विषमता हुन्छ। समथर क्षेत्रमा मोहडामा विषमता नभए तापनि उप-महानगरपालिकामा निम्नानुसारको मोहडाको विवरण रहेको छ।

मोहडा क्षेत्रफल (वर्ग कि.मि.) क्षेत्रफल (प्रतिशत)
उत्तर मोहडा ११.६९ १३.६०
उत्तर पूर्वी मोहडा १०.१२ ११.७७
पूर्व मोहडा ९.८९ ११.५०
दक्षिण पूर्वी मोहडा ११.३५ १३.२१
दक्षिण मोहडा ११.४८ १३.३५
दक्षिण पश्चिम मोहडा १०.६५ १२.४०
पश्चिम मोहडा १०.०६ ११.७१
उत्तर पश्चिम मोहडा १०.७१ १२.४६

२.५ प्राकृतिक सम्पदा

हरेक क्षेत्रको विकासको प्रमुख आधार नै त्यहाँ उपलब्ध प्राकृतिक श्रोतहरू हुन्। प्राकृतिक सम्पदा अन्तर्गत स्थानीयस्तरमा उपलब्ध जमिन, वन, वनस्पती, वन्यजन्तु, जडिबुटी, खानी तथा खनिज, नदी, खोला, ताल, हिमाल, झरना, जलाधार क्षेत्र, सिमसार, निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र आदि पर्दछन्। यिनै प्राकृतिक सम्पदाहरूको दिगो र विवेकपूर्ण सदुपयोग गर्न सकेको खण्डमा मात्र हामी समृद्ध बन्न सक्छौं।

२.६ साँस्कृतिक उत्कृष्टता

मानवीय चालचलन, भाषा, व्यवहार तथा जनजीवन निश्चित परम्पराबाट अमूर्त हिसाबले निर्देशित हुन्छ। दैनिक व्यवहारहरू सञ्चालन गर्न मानिस परिवार र समाजको स्वरूपमा बाँधिएको हुन्छ। विवाह, परम्पराले नाता सम्बन्ध स्थापित गर्दछ र यसले परिवारको श्रृजना हुन्छ। जन्म, मृत्यु, विवाह, खानपान, भेषभूषा, चाडपर्व, भाषा, रहनसहन आदि सबै साँस्कृतिक विशेषताहरू भित्र पर्दछन्। यी सभ्यता र संस्कृतिका आयामहरू मानिसको पहिचानका प्रमुख पक्षहरू हुन्। साँस्कृतिक गतिविधिहरूले मानिसलाई परिस्कृत जीवन जिउन मद्दत पुर्याउँछ। यसले समाजलाई संगठित र गतिशील तुल्याउँछ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार उप-महानगरपालिकामा १,१३,०२८ अर्थात् ६८.७ प्रतिशत हिन्दु धर्मावलम्बीको बसोवास रहेको छ। यसैगरी ४८,२५१ अर्थात् २९.३ प्रतिशत व्यक्तिहरूले इस्लाम धर्म, १,१५४ अर्थात् ०.७ प्रतिशतले बौद्ध धर्म मान्ने गर्दछन् भने १,४३२ अर्थात् ०.९ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेका छन्। यहाँ बसोवास गर्ने धर्मावलम्बीहरूले बडादशैं, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्री पञ्चमी, श्री कृष्ण जन्माष्टमी, होली, चैते दशैं, साउने-माघे संक्रान्ति, मातातीर्थ औंसी, अक्षय तृतीया, हरिशयनी-हरिवोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशे औंसी, बालाचतुर्दशी, कोजाग्रत पूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, नयाँ वर्ष, सोह्रश्राद्ध, छठ, क्रिष्मस, इद, बकरइद लगायतका पर्व मनाउने गर्दछन्।

यस उप-महानगरपालिकामा विभिन्न जाती, धर्म सम्प्रदाय र भेषभूषाका मानिसहरू बसोवास गर्दछन्। सबै जातजाती र सम्प्रदायका आ-आफ्नै धर्म, संस्कृति र चालचलनहरू छन्। विशेष गरी मुसलमान र क्षेत्री समुदायको बाहुल्यता रहेको यस उप-महानगरपालिकामा चाडपर्वको समयमा आफ्नो संस्कृति झल्कने क्षेत्रीले छिटको गुन्यु, चौबन्दी चोली, रातो गलेकी र पहेँलो पटुका, तथा पुरुषहरूले भोटो र स्टकोट कम्मरमुनी कछाड सिरमा टोपी साथै गलबन्दी लगाउने गर्दछन् भने मुस्लिम समुदायका महिलाहरूले साडी ब्लाउज, कुर्ता-सुरुवाल, बुर्का, हिजाब र पुरुषले सेतो जुब्बा या सुरुवाल-कुर्ता लगाउने गर्दछन्। तर, आधुनिक समयमा सबै जातजातिका युवा, युवतीहरूले क्रमशः पाइन्ट, सर्ट, टिसर्ट साडी ब्लाउज, कुर्ता-सलवार नै लगाउन रुचाउँछन्।

२.७ विकासका मुख्य सम्भावनाहरू

हरेक स्थानको आफ्नै विशेषता हुन्छ। कुनै स्थानमा जंगलको भू-भाग अत्यधिक हुन्छ। कुनै स्थानमा पर्याप्त मात्रामा जलश्रोतको उपलब्धता हुन्छ भने कुनै स्थान सुक्खा क्षेत्रको रूपमा रहेका हुन्छन्। तसर्थ कृषियोग्य क्षेत्रमा कृषिको व्यवसायीकरण गरेर माथि उठ्न सकिन्छ भने दिगो वन व्यवस्थापन मार्फत वनक्षेत्र अत्यधिक भएको स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ। उपलब्ध श्रोत र साधनका आधारमा उप-महानगरपालिकाको सम्भावनाहरू उजागर गर्न सकिन्छ। यहाँ खेतीयोग्य जमिन ८०.१४ प्रतिशत रहेको छ। वैज्ञानिक कृषि प्रणालीमार्फत यहाँको समृद्धि हासिल गर्न सकिन्छ।

दिगो वन व्यवस्थापन भन्नाले वनजंगललाई बालीनाली सरह हेरचाह र सुधार सम्भार गर्ने भन्ने बुझिन्छ। उप-महानगरपालिका क्षेत्रमा रहेका सम्भाव्यता र अवसर अन्तर्गत परम्परागत तथा आधुनिक कृषि, जडिबुटी, पर्यटन, पशुपालन तथा साना तथा मझौला उद्योगहरूको विकासका सम्भाव्यताका क्षेत्रहरू रहेका छन्। साथै उप-महानगरपालिकाको विभिन्न स्थानमा पार्क, उद्यान तथा धार्मिक सम्पदाहरूको निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्याप्त अवसर रहेको छ।

उप-महानगरपालिकामा रहेको खेतीयोग्य जमिनमा खाद्यान्नका साथै अन्य नगदे वाली तरकारी वाली, फलफूल, दलहनवाली, मसला तथा जडिबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको छ। आधुनिक कृषि प्रविधि, मल तथा औजारको अभाव हुनाको साथै सो को अधिकतम लागत मूल्यले गर्दा सो को प्रयोगमा कमी हुन गई कृषि उत्पादनमा आवश्यकता अनुसार वृद्धि हुन सकेको छैन्। जनचेतना, सीप तथा व्यवसायीकरण, आधुनिकीकरणको अभिवृद्धि, प्रविधि हस्तान्तरणको साथै आवश्यक प्रविधि, मल, कर्जा, बीउ विजनको उपलब्धतामा सरलीकरण गरेर कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि ल्याई आर्थिक स्थितिमा सुधार ल्याउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ।

उप-महानगरपालिकाको ग्रामिण क्षेत्रमा दुग्ध उत्पादन तथा पशुपंक्षी उत्पादनको प्रशस्त सम्भावना रहेको हुँदा यो व्यवसायलाई विस्तार गर्नुको साथै यातायात सेवालाई सर्वसुलभ तरिकाले उनीहरूको पहुँचसम्म विस्तार गर्न सकेको खण्डमा विभिन्न स्थानहरूमा दुग्ध चिस्यान केन्द्र, कृषि उत्पादनको संकलन केन्द्र/कोल्ड स्टोर, मासुजन्य उद्योग आदि विकास गर्न सकिनेछ। जसबाट रोजगार सिर्जना गरी समग्र उप-महानगरपालिकाको आयमा वृद्धि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ।

उप-महानगरपालिका क्षेत्रभित्र रहेका भूमिगत पानीको श्रोत तथा खोलाहरूबाट आधुनिक कुलो तथा नहर मार्फत पानी सिँचाई गरी व्यवसायिक रूपमा खेती गर्न सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन सक्छ।

स्थानीय कच्ची सडकको स्तर वृद्धि गरी कालोपत्रे गर्न सके स्थानीय बासिन्दाले भरपुर सुविधा लिनुका साथै जीवनस्तरको स्तरोन्नति र समग्र उप-महानगरपालिकाको सुन्दरतामा वृद्धि हुन सक्छ।

यस क्षेत्रमा विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थानहरू रहेकाले पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ।

सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरू यस क्षेत्रमा क्रियाशिल रहेकाले उप-महानगरपालिकाको विकासमा साझेदार हुन सक्ने देखिन्छ।

उप-महानगरपालिका क्षेत्रमा उपभोक्ताहरूको वृद्धि भइरहेको सन्दर्भमा उद्योग, व्यापार र वाणिज्यको विकास हुन सक्ने सम्भावना देखिन्छ।

२.८ गार्हस्थ उत्पादन

गार्हस्थ उत्पादन (जिडिपी) भनेको एक प्रकारको मापदण्ड हो जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ। यसले कुनै एक निश्चित अवधिमा मुलुकभित्र वा ठाउँभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ। सबै निजी तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात तथा निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्दछन्। नेपालमा यसको वार्षिक रुपमा नै गणना गर्ने गरिएको देखिन्छ। ट्रेडिङ्ग इकोनोमिक्सका अनुसार सन् २०२३ मा नेपालको जिडिपी करिब ४० खर्ब हाराहारीमा रहेको छ भने प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ अमेरिकी डलर रहेको छ।

२.९ मानव विकास सुचकाङ्क

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को २०२५ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सुचकाङ्क ०.६२२ रहेको र यसका आधारमा विश्वका १९३ देशहरु मध्ये नेपाल १४५ श्रेणीमा रहेको छ। विश्वका १९३ देशहरु मध्ये गत वर्ष नेपाल १४६ औं स्थानमा रहेको थियो भने यस वर्ष केही सुधार भएर एक स्थान माथि उक्लिएको हो। सन् १९९० मा नेपालको यो सुचकाङ्क ०.३९८ थियो। सो अवधिमा नेपालीको औसत आयु ७०.४ वर्ष रहेको छ। यसैगरी लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ८०/८१ का अनुसार मानव विकास सुचकाङ्क ०.५६३ छ भने औसत आयु ६९.५ वर्ष रहेको छ। गरिबी सूचनाङ्कको विवरण तलको तालिकामा समावेश गरिएको छ।

प्रदेश बहु-आयामिक गरिबीको दर (प्रतिशत) गरिबीको (प्रतिशत) गरिबीको विषमता (प्रतिशत) गरिबीको गहनता (प्रतिशत) गरीवहरूको संख्या मानव विकास सूचकाङ्क
लुम्बिनी प्रदेश २९.९ २४.८ ६.५ २.३ १,०५३,३७९ ०.४६८